काँग्रेसमा विचारको खडेरीः रिजाल


दैलेखः नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रमुख सत्तारुढ नेपाली काँग्रेसमा वैचारिक बहसको खडेरी परेको संज्ञा दिएका छन् ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि ल्याएको घोषणा पत्रमा एमालेको चर्को आलोचना गरिएको सन्दर्भमा रिजालले काँग्रेससँग विचारको खडेरी परेको बताएका हुन् ।
उनले काँग्रेस कम्युनिष्ट नाममा खडा भएका बुख्याँचाहरुको बुई चढेर सत्तामा पुगेको पनि उल्लेख गरेका छन् ।
‘घोषणापत्र पढ्दा नेपाली काँग्रेस वैचारिक रुपमा कति संकट रहेछ भन्ने स्पष्ट हुन्छ’, उनले भनेका छन्, ‘कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरुहरुको बुई चढेर सत्तामा पुगेको काँग्रेस वैचारिक रुपमा अस्पष्ट, कार्यक्रमिक रुपमा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हाँस्यास्पद आत्मश्लाघाहरु पढ्दा थाहा हुन्छ ।’
रिजालले काँग्रेसले आफ्नो एजेन्डा जनतालाई देखाउने भन्दा घोषणापत्रमा एमालेविरुद्ध विषवमन गरिएको पनि उल्लेख गरेका छन् ।
‘काँग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रुपमा नेकपा (एमाले) का विरुद्ध विषबमन गरिएको छ । आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीबारे यति धेरै उल्लेख गर्दैन’, उनले भनेका छन्, ‘आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरु नभएपछि एमालेको विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ । काँग्रेसको घोषणापत्रमा एमालेको नाम २३ ठाउँमा उल्लेख छ ।’
रिजालले काँग्रेसको घोषणापत्रलाई एमालेको आलोचनामा खर्चिएको एउटा पुलिन्दा भनेका छन् । ‘घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ८ ठाउँमा उल्लेख गरेको काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको छ’, उनले भनेका छन्, ‘आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमुना के खोज्नुपर्ला र ?’
उनले काँग्रेसको महाधिवेशनमा पनि देउवाले आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै चुनाव लडेको आरोप लगाए । ‘यसपटक पनि काँग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, केपी ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको छ’, उनले भनेका छन् ।
काँग्रेस र एमाले प्रतिस्पर्धी पार्टी र प्रतिद्वन्द्वी भएको बताउँदै उनले आलोचना, विरोध र खण्डनलाई स्वीकार्न सकिने उल्लेख गरे तर काँग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीबारे प्रयोग गरेका शब्दाले पार्टी वैचारिक रुपमा त टाट पल्टेकै ठहर हुने पनि उनले बताएका छन् ।
‘शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरुको हातमा पुगेछ भन्ने देखिन्छ’, उनले अगाडी भनेका छन्, ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने जस्ता भाषा शहरतिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार